कथा: जागरणको उज्यालो: त्रिकोण, चिनी र चेतना
एक्कासि आकाशतिर आँखा पुग्यो—त्यहाँ एउटा अनौठो त्रिकोण आकारको तारा चम्किरहेको थियो। त्यो न कुनै ग्रह थियो, न हेलिकप्टरको बत्ती। त्यो स्थिर थियो, तर उसको प्रकाशले मनभित्र केही हलचल गराइरहेको थियो।
मोबाइल झिकें—फोटो खिच्न खोजें, तर फोटो हल्लिएको आयो। फेरि प्रयास गरेँ, तर अझै पनि स्पष्ट भएन। "कसैले इरादा देखाउँछ, नियति लुकाउँछ," जस्तो लाग्यो।
हिँड्दै जाँदा तारा रूखहरूले ढाक्न थाले। आकाश अब पूर्ण रूपमा देखिन छाड्यो।
मेरो यात्रा कसैलाई भेट्नको लागि थियो—ठ्याक्कै याद त थिएन, तर सन्देश दिनुपर्ने थियो। त्यहाँ पुगेपछि थाहा भयो, त्यो व्यक्ति घरमै थिएन।
"उहाँ छैनन्, तर तपाईंले दिनुपर्ने कागज उनको छोरा मार्फत दिन सक्नुहुन्छ," कसैले भन्यो।
एक सानो केटो आयो, उसले कागज लियो। तर हेर्न नपाउँदै उसले त्यो कागज च्यात्यो। क्रोधले मनभित्र उथलपुथल मच्चियो। "तिमीले बुझ्नुपर्थ्यो!" भन्दै मैले उसको गालामा दुई–तीन झापड हानें।
अचानक त्यो केटा चुपचाप ढल्यो। न कुनै आवाज, न प्रतिक्रिया—त्यो सिधै लम्पसार पर्यो।
मन काँप्न थाल्यो। "के मरेको त होइन?" केटो मर्यो अथवा बेहोस भयो त्यसको केही थाहा भएन। तर! तत्काल आत्मबोध भयो कि ऊ त बच्चा थियो। नबुझेकोले त्यो काम गर्यो होला। पिटेर त केही समाधान हुँदैन ।
मनभित्र पछुतो, डर र मौनता मिसिएको थियो। त्यो क्षणमै म बुझें—क्रोध क्षणिक भए पनि परिणाम भयावह हुनसक्छ ।
मैले केही बोलिन, बच्चा पनि शान्त सँग पसारिएकै थियो। त्यो अवस्थालाई त्यही त्यत्तिकै छोडी म बिस्तारै अघि बढें। जति अगाडि बढ्यो त्यो केटालाई के भयो होला भन्ने मनमा खेलिरहेको छ।
मैले साथमा दुई किलो चिनी पनि बोकेको थिएँ। किन ल्याएको थिएँ, मलाई प्रस्ट थाहा थिएन। "कुनै ठाउँमा छाड्छु अनि फर्कँदा लिएर जान्छु" भन्ने योजना थियो। किन किन मैले त्यो छोड्नुपर्ने ठाउँमा छोड्ने आँटै गरिन। जब घरदेखि त्यो बोकेर बीचमा राखेर फर्कँदा फेरि घरमै लानु थियो भने किन बोकेर ल्याए होला भन्ने पनि लाग्यो ।
"यो त बोझ मात्रै रहेछ, न प्रयोग, न उद्देश्य।"
यात्रा अघि बढ्दै थियो, मन गहिरो सोचमा डुबेको थियो।
-२०८२ बैशाख २६
अनि... अचानक... सबै अन्धकार भयो।
आँखा खोलें। म आफ्नै ओछ्यानमा थिएँ।
घडीले भर्खर ५ बजेको संकेत गरिरहेको थियो। संसार सुतेको थियो तर मभित्र भर्खर बिउँझिएको थिएँ।
त्यो तारा, त्यो झापड, त्यो पछुतो, त्यो चिनी सबै त सपना रहेछ।
तर...
त्यो बोध—त्यो सपना मात्र थिएन। त्यो चेतनाको उज्यालो थियो।
Comments
Post a Comment