शुभस्य शिघ्रम अशुभस्य काल हरणम्

२०८१/०९/२३ राति करिब ११:४५

आज दिउँसो करिब २ बजे कोटेश्वरबाट टाटा सुमो चढेर बर्दिबास आएँ। सिन्धुली–बर्दिबास सडक गत बर्षाको बाढीका कारण निकै बिग्रिएको छ। बाटो धेरै ठाउँहरूमा धुलोले भरिएको थियो, र सिन्धुली पार गरेपछि शीतलहरले यात्रा झन् कठिन बनायो। गाडीको अगाडिको सिसामा सिमसिम पानी परेजस्तै भइराखेको थियो। यी चुनौतीहरू सामना गर्दै अन्ततः हामी राति ८:४५ बजे बर्दिबास पुग्यौं।

यात्रामा हामी तीनजना साथीहरू (सन्तोष सर, झम्केश्वर सर, र म) थियौं। बर्दिबास ओर्लिएपछि सँगै खाना खायौं र त्यसपछि आ-आफ्नो बासस्थानतिर लाग्यौं। मैले करिब १५ दिनअघि मात्रै यो नयाँ कोठा सरेको हुँ। पहिला म गौरीडाँडा जाने उकालोको बिचतिर ओम समाज डेन्टल हस्पिटलको नजिक बस्ने गर्थें। अहिलेको यो नयाँ घरमा सुरक्षा संयन्त्र अत्यन्तै कडा छ—पहिला मुख्य गेट, त्यसपछि घरको मूलढोका, त्यसपछि पहिलो तलाको च्यानलगेट, अनि बल्ल कोठाको ढोका। यस्तो सुरक्षा देखेर कहिलेकाहीं आफैंलाई जेलजस्तो पनि लाग्छ।

कोठामा पुग्दा करिब १० बज्न लागेको थियो। भोलि अनिवार्य काम भएकाले आराम गर्नुपर्ने हुँदाहुँदै पनि सोहि महत्त्वपूर्ण कामका लागि साथिसँग कुराकानी गर्दा करिब ११ बजिहाल्यो।

विद्युतीय पानी तताउने भाँडोमा पानी तताउन जोडेर म वाथरुम गएँ। दिनभरको थकान, धुलो र शीतलहरले गर्दा घाँटी अलि खसखस गरिरहेको थियो। दन्त मञ्जन गरेपछि घाँटीमा भएको कफ निकाल्न केही खोकेँ। सायद रातको सुनसान समय भएकाले होला, मेरो खोकीको आवाज, सरसफाई सकेर अन्तिममा ढोका खोल्दा निस्केको आवाज माथिसम्म पुगेछ।

म वाथरुमबाट फर्केर कोठामा पस्नै लागेको थिएँ, घरबेटी आमा माथिबाट तल झर्नुभयो र भर्याङबाट नै भन्नुभयो,

"कति ढ्याङढ्याङ, ढुङढुङ गर्नुहुन्छ? राति ११ बजे यस्तो गर्दा हाम्रो निन्द्रा चौपट हुन्छ। तपाईं यसरी राति चर्को खोक्ने होइन नि!"

उहाँको कुरा सुनेपछि म छक्क परें। मैले तुरुन्तै क्षमा याचना गरेँ, "माफ गर्नुहोला, गल्ती भयो, रात्रिको समयमा सुनसान भएर आवाज माथि पुग्यो होला।" मैले यति भनिसक्दा नसक्दै उहाँ फर्किनुभयो म पनि कोठामा पसेँ। तर मनमा प्रश्नहरू उठिरहे। मैले जानाजान कसैको निन्द्रा बिग्रियोस् भनेर खोकेको त थिएन। उहाँले मेरो बाध्यता र संवेदनशीलतालाई बुझ्नुभएन।

मनले भन्न थाल्यो—"यसरी खोक्न पनि नपाइने घरमा कसरी बस्ने?" तर फेरि लाग्यो, "उहाँको गुनासो ठिकै पनि त हो। राति ११ बजे कसैको निन्द्रा बिग्रियो भने असहज हुन्छ।"

तर अर्को मनले सोच्यो, "के यसरी ओछ्याननै छोडेर तल आएर भनिरहनुपर्ने थियो त? म्यासेज गरेर भनेको भए पनि हुने थियो।" केही समयपछि मनमा शान्ति ल्याउनका लागि उहाँलाई म्यासेज लेख्ने विचार आयो, "माफ गर्नुहोला, म भर्खरै यात्राबाट आएँ, अलि असजिलो भएर खोकेको थिए यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छु।" तर त्यो म्यासेज लेखिनँ।

यो घरमा आउनुभन्दा अगाडि कोठा हेर्न आउँदा हाम्रो करोडौंको सामान तलको तलामाछ, घरको मूलढोका राम्रोसँग बन्द गरेर मात्र आउनुहोला भन्नुभएको थियो। त्यतिबेला मैले भनेको थिए अरु पनि केही नियमहरु छन् भने भन्नुहोला है। यो खोक्न नमिल्ने कुरा उहाँले गर्नुभएको थिएन। भित्रभित्रै सोचे घरधनि अन्टीले एउटा सम्झौता गरेर कोठाभाडामा बस्नेले पालना गर्नुपर्ने नियमहरू तथा शर्तहरू बनाउनुपर्ने त्यो पहिले निश्चित भएको भए सायद मैले खोक्ने थिइन कि? अनि उहाँको निन्द्रा पनि बिथोलिने थिएन। खोकी लाग्दा नखोक्न के गर्नुपर्छ मलाई थाहा भएन। घरबेटीले नै बनाएको ढोका खोल्दा आवाज निस्कने छ त्यसबाट आवाज ननिकाली कसरी खोल्न र बन्द गर्न सकिन्छ त्यो पनि थाहा भएन। अन्ततः मनका भावहरू पोख्न मन लागेर यो लेखें, यसरी लेखें।

भोलिपल्ट बिहान (अर्को दिन लेखेको)

हिजो घरबाट आउँदा, मैले गाउँमै फलेको आफ्नै बोटको सुन्तला ल्याएको थिएँ। सुन्तला टिप्दा नै मनमा लागेको थियो—दुई-चारवटा सुन्तला घरबेटीलाई पनि चाख्नका लागि दिनुपर्ला। तर हिजो रातिको घटनाले मन खिन्न बनाएको थियो। खोक्दा पनि असहज महसुस गर्दै प्रतिक्रिया दिने घरबेटीलाई, त्यति टाढाबाट काँडाले घोचेर टिपेको, गाडीबाट झरेपछि झन्डै एक किलोमिटर बोकेर ल्याएको सुन्तला कसरी दिनु? एक मनले भन्यो, "नदिनु राम्रो होला।" अर्को मनले भन्यो, "उहाँलाई पनि सम्झेर टिपेको थिएँ। कुनै दानाहरू उहाँकै नाममा लेखिएको हो भने त्यसलाई हरण गर्ने म को हुँ?"

अन्ततः केही सुन्तला दिनैपर्छ भन्ने लाग्यो। त्यसपछि मैले उहाँलाई फोन गरेँ, "आन्टी, दुई मिनेटकालागि भर्‍याङमा आउन सक्नुहुन्छ?" उहाँ तुरुन्तै भर्‍याङमा आउनुभयो। मैले सुन्तला राखिएको झोला दिदैं भनेँ, "आफ्नै बारीमा फलेको गाउँबाट ल्याएको सुन्तला हो, चाख्नुहोला।"

उहाँले सुन्तला लिनुभयो र हिजो रातिको कुरा उठाउँदै भन्नुभयो, "खोकी र ढोका खोल्दा अलि बिस्तारै गर्नुभयो भने असहज हुँदैन।" उहाँलाई हिजो रातिको घटनाले परेको अप्ठ्यारो महसुस गर्दै मैले भने, "हजुरको निन्द्रा अप्ठ्यारोमा पारें। दिनभरको धुलो र चिसोले गर्दा अलि कफ जमेकाले चर्को खोकेको हुँ। हजुरको असहजताको लागि माफी चाहन्छु।"

यति कुरा भएपछि उहाँ माथि जानुभयो र म पनि कोठामा फर्किएँ। मनमा लाग्यो, "मैले सुन्तला दिएर राम्रो गरेँ।" उहाँलाई पनि सायद लाग्यो होला, "म केही नरम भएर बोलेको भए हुन्थ्यो वा रातिनै नभनि पछि भनेको भए हुन्थ्यो।"

त्यसपछि मैले सोचें—यदि म अलि होशपूर्वक खोक्ने र ढोका खोल्ने गर्थें भने उहाँलाई तल झर्नुपर्ने थिएन। वास्तवमा, मानिस मानसिक रूपमा कमजोर प्राणी हो। ऊ अरूले बोलेको वचनले आफ्नो मनस्थिति बनाउँछ। तर जब मानिस ज्ञानी बन्छ, तब मान-अपमान, घृणा, वा कुनै पनि कुराले उसलाई असर गर्दैन।

हिजोको घटनाबाट मैले बुझें—उहाँले जे भन्नुभयो, त्यो मेरोप्रति होइन, मबाट उत्पन्न आवाजको प्रभावप्रति थियो। यदि यस्तो बुझाइ तत्काल आउने हो भने, कुनै पनि द्वन्द्व सिर्जना हुँदैन। हामी धेरैजसो अरूले गरेको कार्यको प्रभावबाट प्रभावित भयर तत्काल प्रतिक्रिया दिईहाल्छौं। यतिबेला मलाई रावणले भनेको एउटा कालजयी सन्देश याद आयो। “शुभस्य शिघ्रम अशुभस्य काल हरणम्”। अर्थात् शुभ कर्म छ भने तत्काल गर्ने निर्णय गरिहालौं। र नकारात्मक अथवा अशुभ कुरा छ भने त्यसलाई टर्न दिऊँ। यसबाट मनुष्यलाई फाइदा नै फाइदा हुन्छ।

जसरी हिलोमा फक्रिएको कमलले हिलोभन्दा माथि उठेर संसारलाई सुन्दरता दिन्छ, त्यसरी नै महान व्यक्तिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अरूलाई आनन्द दिइरहन्छ। 

२०८१ पौष २५ राति १०:३० बजे

Comments

Popular posts from this blog

हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ