शिवरात्री – २०७४, दैलेख अनुभुती र सम्झना

शिवरात्री –२०७४, दैलेखह
जीवनको ३१ बसन्त पार गरिसक्दासम्म विष भाङ धतुरो खाएर कुनै शिवरात्री मनाएको थिइँन मैले । शिवरात्रीमा दुध आदि परिकारहरुमा भाङ मिलाएर खाने कुरा बनाई खाने र लट्ठ पर्ने प्रचलन पनि युवा पुस्तामा धेरै नै पाइन्छ । यस वर्षको शिवरात्री फागुन १ गते परेको थियो । म बहुक्षेत्रीय पोषण योजनाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्नका लागि दैलेख जिल्ला आईपुगेको थिएँ । कामको सिलसिलामा विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा जाने क्रममा फागुन २ गते म नौमुले गाउँपालिका जानु पर्ने थियो । १ गते शिवरात्री भएकोले बैंक तथा वित्तीय संस्थाहरु सबै बन्द थिए । मसँग ३ दिन अगाडिदेखी होटलमा बसेको पैसा तिर्दा फिल्डमा जाने पैसा नपुग्ने भएर जिल्ला संयोजक पवित्रा दिदीसँग फिल्डमा जानको लागि पैसा मागेको थिएँ । उहाँ आज बिहान मात्र फिल्डबाट आउनु भएकोले कोठामा नै छु भन्नुभयो । म पनि होटल मानसरोवरमै थिएँ । दिदीसँग पैसा लिन जानु पर्यो भनेर म त्यता गएँ । उहाँको बस्ने ठाउँ नजिक गएर फोन गरेको उहाँको मोवाइल रिसिभ भएन । म अब के गर्ने भनेर नजिकैको ज्वाला खाजाघरमा चिया खानु पर्यो भनेर गएँ । त्यहाँ पकौडा पनि रहेछ । मैले १ प्लेट पकौडा पनि खाएँ । फेरी पवित्रा दिदीलाई फोन गरे उहाँको फोन अझै पनि उठेन । यतिबेला लगभग ५ः३० बजेको थियो । सँगै चिया खाउँ न सर भनेर मैले सुआहारको पोषण अधिकृत सिजन श्रेष्ठलाई पनि अलि अगाडि नै फोन गरेको थिएँ । उहाँ पनि दैलेख जिल्लामा आद्यौगिक व्यापारीक मेला लागेकोले त्यता जानु भएको रहेछ ।
मैले चिया खाई सकेर उहाँलाइ फेरी फोन गरें अवको १५–२० मिनेटमा आई पुग्छु सर तपाई न्यु मोडल होटलमा आई राख्नु म मेलाबाट आउँछु भन्नु भयो । हुन्छ भनेर म न्यू मोडल होटलतिर लागें । त्यहाँ सुआहाराका अरु २ जना साथीहरु पनि हुनुहुँदो रहेछ । १५–२० मिनेटजति गफ गरेर बसियो । सिजनजी आईपुग्नु भएन । मैले पनि फेरि फोन गरिन । सुआहाराका अरु साथीहरुलाई पछि भटौला रे भन्नुहोला सिजनजीसँग भनेर म त्यहाबाट मानसरोबर होटलमा गएँ ।
भोलि नौमुले गाउँपालिका जानु पर्ने भएको हुनाले केही डकुमेण्टहरु तयार गर्नु पर्ने थियो । म त्यो मिलाउँदै थिएँ । पवित्रा दिदीले फोन गर्नुभयो । म त्यतै गएँ । म त मोवाइल साइलेन्समा राखेर सुतेछु थाहा नै भएन भन्नु भयो । भोलि नौमुले जानलाई ग्रामिण जलश्रोत परियाजना (आर भि डब्लु आर एम पि) का लक्ष्मी महत सर पनि जाँदै हुनुहुन्छ सँगै जानुहोला म कुरा गरि दिन्छु । पवित्रा दिदीले भन्नु भयो । हुन्छ त्यसै गरौला भनेर म पैसा लिएर होटलमा आएँ । अगि सुरु गरेको काम पुनः सुरु गरें । केही बेरमा खाना खान आउनु सर भनेर रिसेप्सनबाछ फाेन आयो । म खान खान गएँ । खाना खाँदा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका २ जना सरहरुसँगै खाना खायौं । जव खाना खाई सकियो मलाई सामान्य रिगंटा लागेको जस्तो जिउ एकदम हलुगों भएर आयो । चुठ्न बेसीनसम्म जाँदा पनि रिगंटा लागेको अनुभव उस्तै थियो । ती सरहरुसँग गुडनाइट सर भन्दा पनि चक्कर आएको अनुभुती भइरहेको थियो । हैन मलाई के भइरहेको छ यस्तो भनेर आफैलाई पश्न गरें । सबै ठीकै त छ के भयो र ? म पहिलाको काम सुरु गर्न थाले । ल्यापटपमा फाइल खोल्न खोज्यो माउस नै सार्न हात लटपटिन थाल्यो ।
त्यतिकैमा बाजुराबाट सुमित सरले फोन गर्नु भयो । मैले भने सर मलाई त के भयो के भयो रिगंटा लागे जस्तो जिउ एकदम हल्का महसुस भइरहेकोछ । उहाँले भाङ खायौ होला त्यसैले हो भन्नु भयो । मैले भने केको भाङ खाने हो सर अहिलेसम्म कहिल्यै नखाएको कुरा भने । त्यत्तिकैमा आँखा पनि रातो रातो हुन थाल्यो । तातो पानी खानु ठीक हुन्छ । सुमित सरले भन्नु भयो । थर्मसमा भएको पानी गिलासमा हाल्दा पनि हातले राम्रोसँग काम गरिरहेको थिएन । त्यतिकैमा रामकुमार ढकालको फोन आयो । मलाई त कस्तो गाह्रो भैरहेकोछ । खानामा भाङ परेछ जस्तो छ भनेर भने । हो त्यस्तै देखिएको छ उसले भन्यो । मैले तत्काल होटलको काउन्टरमा फोन गरें ।मलाई रिगंटा लागीरहेको छ झ्याSप जस्तो महसुस भैरहेको छ के खानामा भाङ थियो की ? तलबाट उत्तर आयो हैन सर यहाँ केटाकेटीहरु पनि छन् खाना खाने त्यस्तो केही हालेको छैन । खै के भयो त मलाई त पुरा चक्कर लागिरहेको छ । भनेर फोन राखिदिएं । रामकुमार अनलाइनमै थियो । टाउको पानीमा थाप्नु न ठिक हुन्छ होला उसले भन्यो । मैले त दिउसो मात्र नुहाएको आज जाडो छ कसरी टाउको थाप्नु भने । उ हाँस्यो । म पनी हाँसे ।

मलाई भोलि कसरी फिल्डमा जाने फेरि भोलिनै बैठक पनि राख्ने कुरा तय भएको छ । कम्प्युटरमा खोलिएका फाइलहरु बन्द गर्नलाई पनि हातहरुले राम्ररी काम गरिरहेका थिएनन् । बल्ला तल्ल कम्प्युटर सर्टडाउन गरें । केही काम गर्न खोज्यो त्योकाम गर्न खोजेको कुरा नै विर्सने अनौठा खालको अनुभुतिहरु भइरहेको थियो ।  ल टाउकोमा पानी हालेर सुत्नु ठिक हुन्छ होला नआत्तिनु भनेर रामकुमारले फोन राख्यो ।
मैले पुनः होटलको काउन्टरमा फोन गरेर कागती पानी ल्याई दिन भने हुन्छ भनेर फोन राखी दिनु भयो । फेरी सुमितजीको फोन आयो । तातोपानी र कागती खाउ ठीक हुन्छ । मजा आइरहेको होला नि भनेर जिस्क्याउन पो थाल्नुभयो । मैले आफ्नो टाउकोमा पानी पनि ठोके झन रिगंटा थपिई नै रहेकोछ । पानी खाँदा खाँदा पेट फुलेको जस्तो भयो । तलबाट कागती आएन । दिदीले दिएको पैसा एउटा ज्याकेटकको खल्तीमा राखेँ फेरी बेहासीमा हराउला भनेर । अनी रुम बन्द गरेर आफैं तल गएँ । होटलका कर्मचारीहरु झन जिस्क्याउन  थाले । मैले कागती मागेको दिन आनाकानी गरिरहेका थिए ।
एउटा टेवलमा एकजोडी श्रीमान श्रीमती खाना खाँदैथिए । सरले कता कता के के खानु भएको थियो र दिउसो ? ति जाेडी मध्येकाे श्रीमानले मलार्इ प्रश्न गरे। मैले ज्वाला होटलमा १ प्लेट पकौडा र १ कप चिया खाएको हो अन्त अरु केही खाएको छैन भने । उनीहरु दुवैजना हाँसे । एक प्लेट पुरै खानु भयो सर पकौडा ? मिठो थियो मैले सबै खाए अझ थपेर खाने मन थियो राती खाना पनि खानु पर्छ भनेर नखाएको भने । उनिहरु अझै हाँसे । र भने सर तपाईलाई हामी त्यसको प्रमाण नै दिन्छौ त्यो पकौडामा भाङ थियो । अरु हाम्रा साथीहरुपनि सुती सकेका छन् ज्वाला होटलको पकौडाको भाङले । ल सुन्नु भनेर एक जना साथीलाई फोन पनि गरे तिनले । उतावाट पनि लटपटिएको आवाज आयो । अनी बल्ल थाहा भयो कारण त यस्तो पो रहेछ ।
अब झन भाङ लागेको भनेर होटलका भाइहरु पनि जिस्क्याउन थाले । म भने सकेसम्म संयमित भएर कुरा गर्ने कोसीस गर्दै थिएं तर बोली नै लटपटिन थाल्यो मेरो । एकोहोरो जे सोच्यो त्यही मात्र सोचिने हुनथाल्यो । एक गिलास पानीमा कागती १ वटा पुरै हालेर खाएँ २० को १९ पनि भएन । सर यो अमिलोले छोड्ने हैन । भन्दै थिए होटलका भाइहरु । जे काम गर्न थाल्यो अरु दायाँबायाँ दिमागले केही सोच्नै छाड्यो । म माथि रुममा गएँ । अनायसै गीत गउन मन लाग्ने त्यतिकै विभिन्न स्वरहरु गुनगुनाइने विचित्रको अनुभवहरु हुन थाल्यो । शिवजीले त विष भाङ धतुरो खाएर ध्यान गर्नुहुन्थ्याे म पनी एक छिन भए पनि ध्यानमा बसौ न त भनेर बसेको ४५ मिनेट जति एकदम आनन्दले बसिएछ पछि थाहा भयो । कुनै कुरा सम्झनु पर्यो भने धेरै कोसिस गर्नु पर्ने भयो । तर पनि भोलि फिल्डमा जानुछ भन्ने कुरा चाहिँ निरन्तर आइ नै रहेको थियो । अब जे त होला भगवान् भाेलेनाथकाे शरण भनेर सुते । विहान चाडै नै उठिएछ । धङधङी अझै बाँकी रहेको छ । दिमागले राम्रोसँग काम गरिरहेको छैन । घरबाट फोन आयो सन्चो छैन भने फिल्डमा नजानु आज भन्दै थिइन् तर नगई नहुनेछ भनेँ । शौचादी निबृत्त भएर पवित्रा दिदीलाई फोन गरें । ग्रामिण जलश्रोत परियाजना का जिल्ला जलश्रोत सल्लाहकार लक्ष्मि महत सरको फोन नम्वर मसँग थिएन । दिदीले नम्बर दिनु भयो र उहाँलाई फोन गरें । उहाँले पौने आठ बजे जाने हो दामोदरजी डीकेन्द्र चोकमा निस्किरहनु भन्नु भयो । हुन्छ भनेर फोन राखिदिएँ । किचनमा गएर २ वटा कागती पानी खाए तै पनि होला कि भनेर । नसाले छोड्ने कुनै संकेत छैन । अब जे त होला भनेर डिकेन्द्र चोकमा निस्किए । गाडी पनि आयो । मैले लक्ष्मी सरलाई पनि भने यस्तो भैरहेकोछ सर बोल्दा धेरै बोल्छुकी भनेर डर लागिरहेकोछ । उहाँ हास्नु भयो । बाटोमा एक ठाउँमा दुध खानुपर्छ भनेर लक्ष्मि सरले बाटेबाटै कुरा गर्दै गईरहनु भएको थियो । त्यहा दुध खाइयो साह्रै मिठो दुध रहेछ । त्यो खाएर अलि पर पुगेको स्काभेटरले बाटेको स्तरोन्नती गर्दै रहेछ करिव २५ मिनेट जति रोकियो । फेरि केही पर त्यस्तै भयो । यसरी नौमुले बजार पुग्दा १०ः४५ जति भएको थियो । हामीले खाना खायौं । लक्ष्मि सरले फिल्डका साथीहरुसँग काम छ तपाई गाउँपालिकाको कार्यालयमा जानु भन्नु भयो मैले त्यसै गरें ।
अध्यक्ष केही समयका लागि अर्को मिटिङमा रहेछन । प्रमुख प्रशासकिय अधिकृत र पोषण फोकल पर्सन सरसँग भेट भयो । मैले बैठकका एजेण्डाहरु यस्ता छन् भनेर सुनाएँ । ठिक छ सर हाम्रो अर्को बैठक पनि छ सरले काम गर्दै गर्नुस ४ बजे पछि पोषणको बैठक बस्ने समय मिलाउँछु भनेर प्रमुख प्रशासकिय अधिकृत सन्तोष ढुङ्गाना सर जानु भयो । पोषण फोकल पर्सनले पहिलाको बैठकको माईन्युट हराएकोले पहिलाको फोटो पवित्रा दिदि संग पठाउन भन्नु भयो । मैले फोन गरेर भनेपछि उहाँले पठाई दिनुभयो । पवित्रा दिदिले पहिलाको फोटो पठाई दिनु भएकोले त्यसलाई प्रीण्ट गरेर नयाँ रजिस्टरमा टाँस्दै हुनुहुन्थ्यो फोकल पर्सन । म पनि अर्को कामहरु गर्दै थिएं । त्यतिकैमा ल्यापटपको चार्ज सकिन लाग्यो प्रमुख प्रशासकीय अधिकृतको कोठामा चार्जको प्लगले मेरो ल्यापटपको चार्जरलाई काम गरेन र अर्को कोठामा गएर ल्यापटप चार्जमा राखें । बाथरुम जाउँ जाउँ लाग्यो । म ट्वाईलेट गएँ । लङ ट्वाईलेट गरेर आएँ । ल्यापटपमा केही चार्ज हुन्जेल त्यतिकै त्यसै रुममा बसें । केही क्षण पछि ल्यापटप लिएर फेरि प्रमुख प्रशासकीय अधिकृतकै रुममा गएर काम गर्न थालें । कति बजेछ मोवाइल हेर्नु प¥यो भनेर मोवाइल निकाल्न थालेको खल्तिमा २ वटा मोवाईल छ । म छक्क परें । डर पनि लाग्यो यो मोवाइल कताबाट मेरो खल्तिसम्म आयो । तत्काल अर्को रुममा गए यो मोवाईल कस्को हो कसरी मेरो खल्तिमा आएछ । म चोर चाही होईन भन्दै गएँ । सबै जना हाँसै त्यो मोवाईल सुब्बा सहेबको रहेछ । मेरो ल्यापटपको माथी राख्नु भएको थियो रे । मैले कुन बेला खल्तिमा हाँले मलाई नै थाहा भएन । मोवाइल फिर्ता गरेर फेरि काम गर्न थालें । ४ः३० बजेबाट बैठक सुरु भयो । बैठकमा सबै एजेण्डाहरुमाथि छलफल गरि पारित गराइयो र समग्रमा बैठक फलदायी नै भयो । बैठकको सबै एजेण्डाहरुलाई ल्यापटपमा नै छलफलको निर्णय लेखेकोले त्यसलाई प्रिण्ट गरेर माईन्युटमा टाँसियो ।
पछि सम्झिएँ यदि मैले दिउसो मोवाइल मसँग छ भन्ने थाहा नपाईकनै उनले मोवाइल हरायो भनेर खोजी गरेका र पछि मेरो खल्तिबाट मोवाईल भेटिन्थ्यो भने मेरो के हालत हुन्थ्यो होला ? धन्न शिवजीले त्यस्तो परिस्थितिको सामना गर्ने अवस्थाबाट जोगाउनु भयो । जय भोला । जय शिवरात्री । सबैमा ज्ञान भक्ति र कर्म गर्ने शक्ति प्राप्त होस ।
–दामोदर न्यौपाने
२०७४/११/०७ गते दैलेख

Comments

Post a Comment

Popular posts from this blog

हजुर आमाको आत्माको चिर शान्तीको कामना सहित हार्दिक श्रद्धान्जली

शुभस्य शिघ्रम अशुभस्य काल हरणम्

ईशावास्योपनिषद् संस्कृत श्लोक अंग्रेजी र नेपाली सामान्य अर्थ