ठाटीकाँधको यात्रा दैलेख–२०७४
- पहाडी भू–भागमा हिंड्दाको आनन्द पनि राम्रै हुन्छ भन्ने सोचेर म हिंडेर जान कस्सिएँ । बाटो सजिलो नै रहेछ । म रामाघाट पुग्दा करीब २ वजेको थियो । बाटोमा मसँगै जाने मानिस कोही भेटिए पनि सजिलो हुन्थ्यो भन्ने मनमा थियो तर कोही भेटीएन । बाटोमा आउने सबैसँग र बाटोमा भेटीएका सबै मानिसहरु सँग सोधियो अब कति समय लाग्ला ठाँटीकाँध पुग्न ? प्रायः सबैको जबाफ आउँथ्यो २ घण्टा । पहाडमा २ घण्टा भन्ने कुरा साह्रै सामान्य हुन्छ । ५ घण्टा लाग्ने ठाउँ होस्वा १ घण्टा लाग्ने ठाउँ मानीसहरु २ घण्टामै पुगिन्छ भन्ने गर्छन् । त्यस्तै भयो मलाई पनि ठाटीकाँध जाँदा । जे होस् बाटोमा देखिएका सुन्दर दृष्यहरुले गर्दा हिंड्दा लागेको थकाई मेटाईरहेको थियो । कहिले खुल्ला ठाउँ कहिले वस्ती कहिले खोलाको किनार त कहिले जङ्गलको बाटो ।
हाँसे ।

म पनि हाँसे । त्यतीकैमा एउटा बच्चा स्कुलको ब्याग बोकेर आयो । उसको ब्यागमा कितावहरु थिए तर ब्यागको चेनको भने कुनै नामनिसाना थिएन । ब्यागभित्रको सबै किताब बाहिरबाट देखिन्थ्यो । आफू कक्षा १–३ सम्म पढ्दाको कुरा याद आयो । खेतबारीमा लगाईएको बालीमा छर्ने रासायनिक मलको बोरा काटेर बनाएको ब्यागमा किताव राखेर स्कुल जान्थेँ म सानो छँदा । त्यतिकैमा त्यस ठाउँमा अर्को एउटा बच्चा आयो जसको एउटा हातमा पानीको जर्किन थियो अर्को हातमा पानीको बोतल र एउटा झोला थियो । मैले फोटो खिच्न लागेको देखेर स्कुल पढ्ने भाइ लजाएर बच्चा बोक्ने केटासँग टाँस्सिन पुग्यो ।

टाँस्सिन जाँदा बच्चाबोक्ने केटोलाई धक्का लागेछ एउटा चप्पल गोडाबाट फुत्कियो र अन्तत बोकेको बच्चासँगै माटोमा दुबै जना लडे ।

धूलो माटो भएको हुनाले उसलाई र सानो बच्चा दुबैलाई चोट लागेन उनीहरु लड्दा पनि हाँसि नै रहेका थिए । मलाई यसबेलामा पनि आफू सानो छँदा माटोमा लडीबुडी गरेको याद आयो । अन्तमा बच्चाहरु सबै हाँसे म पनि हाँसे । यति हुँदा मलाई हिड्दा लागेको थकाई सबै हरायो ।
कति आनन्द छ बच्चा बेला । सानो कुराले पनि धेरै खुसी दिने । उनीहरुलाई भोलिको कुनै चिन्ता नै छैन । आजको र अहिलेको समय नै उनीहरुको लागि महत्वपूर्ण हुन्छ । भलै लगाएको कपडा सफा र राम्रो नहोस्, गोडामा लगाएको चप्पल छिनेर डोरीले कसेर लगाएको किन नहोस् कुनै गुनासो छैन कसैसँग । बस खुसी छ । आजखाएँ भोलि के खाउँ भन्ने र कसरी ती सबै कुराको व्यवस्थापन मिलाउने कुनै चिन्ता छैन । हामी आफ्नो वास्तविकतामा रमाउन सक्दैनौ । किनकि हामीलाई बाह्य कुराले प्रभाव पारेको हुन्छ । अरुको यस्तो छ अरुको उस्तो छ मेरो भएन भन्दाभन्दै जिन्दगी बितेर जान्छ तर कहिल्यै चाहना पूरा हुँदैनन् । हामी वर्तमानमा बाच्दैनौ । हामीलाई त कि भूतले सताउँछ कि भविष्यको चिन्ताले । त्यो समय त्यतिकै बिताएँ किन मैले त्यो बेलामा राम्रो वा अमुक काम गर्न सकिँन र खत्तम भएँ । कि त भोलि के गर्ने होला यसो भएन भने त म खत्तम हुन्छु भन्दा भन्दै हाम्रो वर्तमानको यथार्थता गुमेर जान्छ । र त हामी उमेरले ठूला र साना केटाकेटीहरुमा खुसीको स्तर धेरै तल माथि हुन्छ । बाबु तिमि अब त २० वर्ष पुगिसक्यौ कमसेकम भविष्यको त चिन्ता गर । हाम्रा बा–आमाले सानैबाट सिकाएको पाठ । जुन अनवरत चलिरहेको छ आजसम्म । हामीलाई वर्तमानमा जे छ त्यसमा रमाउन सिक भनेर कहिल्यै सिकाइएन । सिकाइयो चिन्ता गर्न । हामीले चिन्तन गर्ने बानी नै बसालेनौ । खाली भूतको खिन्नता र भविष्यको चिन्ताले हाम्रा दिन हप्ता महिना साल बित्दै गईरहेका छन् ।
नजिकको पसलमा गएँ रामाघाट सम्म जिपमा आउँदा मसँग भएको सबै खुद्रा पैसाहरु भाडा तिरेको १००० को नोटमात्र थियो मसँग । खाए पछि के हो के हो भनेर साहुजीलाई भने साहुजी मसँग १००० को नोट मात्र छ तर मलाई भोक पनि लागेको छ के छ व्यवस्था ? साहुजीले ढिला नगरी उत्तर दिए आज मसँग १००० को साट्ने पैसा छैन वरिपरि पनि कसैसँग छैन तर खाजा खाएर जनुस् फर्कदा दिनुहोला । मैले फेरि प्रश्न गरे अब कती बेरपछि अर्को पसल आउँछ ? आधा घण्टापछि । ल साहुजी हजुरलाई धन्यबाद म माथि नै गएर खान्छु फेरी यही बाटे फर्किएला नफर्किएला अधारो खाएर कसरी जाउँ भनेर बाटो लागे ।
साहुजीले आधा घण्टा भनेको बाटो १ घण्टामा बल्ल पुगे । करीव ५ बजेको थियो म माथि डाँडाको पसलमा पुग्दा । म पुग्दा त्यस पसलेका छोराछोरी स्कुलबाट भर्खर घर आइपुगेका रहेछन् । आँगनको छेउमा गाईबस्तुहरु बाँधीएको थियो । त्यस पसलका घरमा त्यतिबेला ती दुईजना दिदीभाइ मात्र थिए । उनीहरुकी आमा कामको लागि रामाघाटतिर जानुभएको रहेछ । ती दुई जना दिदीभाइ क्रमशः ८ र ६ कक्षामा पढ्ने रहेछन् । मलाई उनीहरु देख्दा आफ्ना छोराछोरीको याद आयो मेरो छोरी र छोरा पनि ८ र ६ कक्षामा नै पढ्छन् । उनीहरुको एक जना दाइ रहेछ ऊ कक्षा १० मा पढ्छ रे मामा घरमा बसेर । अनि अर्की सबैभन्दा जेठी चाहीँ दिदी रहिछिन् र उनको विवाह भैसकेको रहेछ । उनी सुर्खेत बस्ने रहिछन् । पहाडमा ३/४ वटा सन्तान सामान्यनै मानीन्छ । त्यसो त हामी पनि ४ भाई छौं एक बहिनी पनि छे । अझ आमाले त जम्मा ९ वटा सन्तानहरुलाई जन्म दिनु भएको रे । म भन्दा माथीका २ जना दाईहरु जन्मना साथ मरेका रे । म माथीको एक जना दीदी हुनुहुन्थ्यो हामी संगै स्कुल जाने गथ्र्यौं उहाँ पनि १२/१३ वर्षको उमेरमा वित्नु भएको । म पछिको एउटा भाई पनि १०/११ वर्षको उमेरमानै वितेको । १५/२० वर्ष पहिला सम्म बालबालिकाको मृत्युदर एकदम बढी थियो जसले गर्दा बच्चा जन्माउने दर पनि त्यतिकै बढी हुने गर्दथ्यो । म पछिको भाई वितेकालेनै हाम्रा बा–आमाले पछिका २ वटा भाईहरु लाई जन्म दिनु भएको । धेरै भएपछि कुनै न कुनै त अवस्य बाच्लाननी भन्ने विश्वासले काम गरेको । अहिले देशमा स्वास्थ्य सुविधा राम्रो आयो र खोपको कारणले पनि बच्चाहरुमा स्वास्थ्यको समस्या कम हुने गरेकोछ । त्यस कारण पनि धेरै बच्चा जन्माउने प्रबृत्ति नया पुस्तामा कमै हुँदै आएकोछ । मैले ति भाई बहिनीहरु संग परिवारको कुराहरु सोधी रहँदा उनीहरु खुसी नै थिए जब बाबुको कुरा गरें उनीहरु गम्भीर हुँदै बुबा हुनुहुन्न ४ वर्ष अगाडि नै बिति सक्नु भयो । धेरै रक्सीखानु हुन्थ्यो । म स्तब्धभएँ । मानिसको जीवन अनित्य छ । कोही पनि अमर अजर रहँदैन । जन्मेपछि मर्नु पर्ने विधिको विधान हो । मर्नु त एक दिन सबैले छँदैछ । यसमा दुःख मानेर हुने कुरा केही छैन तै पनि कुनै घरमा साना बालबालिका हुँदाहुँदै अभिभावक भएन भने त्यस घरका बालबालिकाको वर्तमान दुःखदायी अवस्य हुन्छ । मर्नुछ भन्दैमा हामीले हाम्रो स्वास्थ्यलाई हानी हुने कुराहरु जस्तै रक्सी, चुरोट, सुर्ती जास्ता पदार्थ सेवान गर्दा बाचुन्जेल स्वास्थ्यमा समस्या हुनुको साथै मरे पछि पनि राम्रो नाम रहदैन । मैले उनीहरुलाई तल सम्म ठाउँको साहुजीलाई जस्तै मसँग खुद्रा पैसा छैन तर भोक लागेकोछ मलाई जे हुन्छ खाजादिनु प¥यो म भोलि तिमिहरु स्कुल जाँदा माथिनै पैसा दिन्छु भने । पहिला त उनीहरु अलि अलमलिए । मैले गाउँपालिकामा जानलागेको हो मसँग भएको खुद्र पैसा सकियो । छ भने साट छैन भने मलाई विस्वास गर म भोलि बिहानै दिन्छु । मैले गाउँपालिकाको स्थानीय कर्मचारीहरुको नाम पनि लिए उहाँलाई भेट्न जाने हो यतिभने पछि हुन्छ भने । अनी सानो भाईले चाउचाउ पकाउने भाँडा विहानको जुठो रहेछ माझ्न थाल्यो बहिनी चाहीँ आगो बाल्न थालिन् । मैले भने मलाई धेरै नै भोक लागेको छ अहिले चाउचाउ पाक्ने बेलासम्म खाने केही कुरा छ ? उनीहरुले विहानको मकैको रोटी छ खानुहुन्छ र ? मैले हुन्छ ल्याउ म खान्छु भनेँ भाइले रोटी ल्याइ दियो ।

अनि ती आँगनका बस्तुहरु घरको तल रहेको गोठमा लगेर बाध्नको लागि गयो । मैले एउटा रोटी खाएँ । अनि बहिनीलाई भने मलाई रोटी पनि खानदियो अव ३ वटा चाउचाउ पकाउ म भोलि ३ वटैको पैसा दिन्छु तिमिहरु पनि खाने म संगै । बहिनीले हुन्छ भनेर ३ वटा चाउचाउ पकाइन् । अहिले गाउँघरको खाजा भनेकै चाउ चाउ हो । अन्य चिजहरू खान खेजेर पनी पार्इन्न । हामी पोषणको क्षेत्रमा काम गर्ने मान्छे तै पनी चाउ चाउ र्इच्छा नहुँदा नहुँदै पनी खानु पर्ने हुन्छ । धन्न मैले त रोटी पनी पाएँ । भार्इ गार्इ बस्तु बाँधेर आयो अनि हामीले चाउचाउ खायौं । म आफ्नो बाटो लागें ।
भोलिपल्ट बिहान मैले उनीहरु स्कुल जाँदा हिजोको पैसा दिएँ । घरमा बाबु नभए पनि उनीहरुकी आमाले दुःखै गरेर पनि पढाएकी रहिछन् । ती नानीबाबुहरु पनि पढ्नमा तेज रहेछन् । बाबु चाहीँ कक्षामा प्रथम हुने रहेछन् ती नानीचाहिँ दोस्रा तेस्रा हुने रहिछन् । घरमा श्रीमान् नहुँदा ज्याला मजदुरी गरेर पनि त्यसरी संस्कार सिकाउने ती महान् आमालाई नमन छ ।
–दामोदर न्यौपाने
२०७४/११/०६ गते दैलेख
Comments
Post a Comment