शुभस्य शिघ्रम अशुभस्य काल हरणम्
२०८१/०९/२३ राति करिब ११:४५ आज दिउँसो करिब २ बजे कोटेश्वरबाट टाटा सुमो चढेर बर्दिबास आएँ। सिन्धुली–बर्दिबास सडक गत बर्षाको बाढीका कारण निकै बिग्रिएको छ। बाटो धेरै ठाउँहरूमा धुलोले भरिएको थियो, र सिन्धुली पार गरेपछि शीतलहरले यात्रा झन् कठिन बनायो। गाडीको अगाडिको सिसामा सिमसिम पानी परेजस्तै भइराखेको थियो। यी चुनौतीहरू सामना गर्दै अन्ततः हामी राति ८:४५ बजे बर्दिबास पुग्यौं। यात्रामा हामी तीनजना साथीहरू (सन्तोष सर, झम्केश्वर सर, र म) थियौं। बर्दिबास ओर्लिएपछि सँगै खाना खायौं र त्यसपछि आ-आफ्नो बासस्थानतिर लाग्यौं। मैले करिब १५ दिनअघि मात्रै यो नयाँ कोठा सरेको हुँ। पहिला म गौरीडाँडा जाने उकालोको बिचतिर ओम समाज डेन्टल हस्पिटलको नजिक बस्ने गर्थें। अहिलेको यो नयाँ घरमा सुरक्षा संयन्त्र अत्यन्तै कडा छ—पहिला मुख्य गेट, त्यसपछि घरको मूलढोका, त्यसपछि पहिलो तलाको च्यानलगेट, अनि बल्ल कोठाको ढोका। यस्तो सुरक्षा देखेर कहिलेकाहीं आफैंलाई जेलजस्तो पनि लाग्छ। कोठामा पुग्दा करिब १० बज्न लागेको थियो। भोलि अनिवार्य काम भएकाले आराम गर्नुपर्ने हुँदाहुँदै पनि सोहि महत्त्वपूर्ण कामका लागि साथिसँग कुराकानी गर्दा क...